पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु
पेशावर, ५ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतङ्ककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ । “दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,” स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रारम्भिक रिपोर्टअनुसार मृतक छ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको छ । दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।
नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग भन्नुभयो, “दुवै समूहमा करिब ४० वटा गाडी थिए जुन प्रहरीको सुरक्षामा यात्रा गरिरहेका थिए।” महसूदले भन्नुभयो, “महिला र बालबालिकाले स्थानीय घरमा शरण लिएका थिए र हामी अहिले त्यस क्षेत्रमा (आक्रमणकारी) को खोजी गरिरहेका छौं।” “प्रारम्भिक रिपोर्टमा यस क्षेत्रलाई महिनौंदेखि पिरोलेका साम्प्रदायिक मुद्दा होर पीडितमध्ये अधिकांश शिया समुदायका व्यक्तिहरू रहेका छन्,” उहाँले यसअघि जारी गरेको वक्तव्यमा भन्नुभएको थियो ।
सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्। पाकिस्तानमा हुने सामुदायिक झडपमा परी बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार