विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन


 


जनकपुर, ६ मड्सिर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा नेपाल र भारतका विभिन्न जिल्लाबाट जनकपुरधाम आउने भक्तजनलाई कुनै कमी हुन नदिने बताउनुभयो । उहाँले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखी यस वर्ष मनाउने विवाह पञ्चमीको तयारीमा लाग्न तथा महोत्सव व्यवस्थापनमा ध्यान दिन प्रदेशका सम्बन्धित मन्त्रालयलाई समन्वयात्मक र तीव्रताका साथ काम गर्न निर्देशन दिनुभयो ।

मेला भर्न आउनेको वास, शौचालय, खानेपानीलगायत अत्यावश्यक पूर्वाधार तयारी, स्वास्थ्य सेवा व्यवस्थापन तथा सुरक्षा कार्ययोजना कार्यान्वयनलगायत विषयमा गम्भीरतापूर्वक लाग्न जोड दिनुभयो ।

बैठकमा प्रदेशका सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो । भारतको अयोध्याधामबाट यही मड्सिर १७ गते पाँच सय जन्ती आउने बताइएको छ ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्