ओभरलोड बिरुद्ध बागमती ट्राफिक निर्मम, एउटै गाडीलाई ५४ हजारसम्म जरिवाना


 


काठमाडौँ । क्षमता भन्दा धेरै सामान बोक्ने मालवाहक ट्रकहरूमाथि बागमती ट्राफिकले कडा कारबाही थालेको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट काठमाडौँतर्फ आउने मालवाहक सवारीलाई ट्राफिक प्रहरीले ५४ हजार रुपैयाँसम्म जरिवाना गरेको छ ।

ओभरलोड बोक्ने सवारीविरुद्ध निर्मम भएर कारबाही थालिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले । उनले भने, ‘चितवनको आँपटारी र धादिङको नौबिसेमा तौलपुल छ त्यहाँ तौल लिँदा भार धेरै बोकेको भेटिए कारबाही गर्छौँ ।’

पछिल्लो साता राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दुई वटा ट्रकलाई ठुलो परिमाणमा जरिवाना गरेको छ । एउटा गाडीलाई ४३ हजार र अर्कोलाई ५४ हजार ४ सय जरिवाना गरिएको एसपी सुवेदीले जानकारी दिए ।

ओभरलोडका कारण धेरै दुर्घटना हुने र त्यसबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ओभरलोड विरुद्ध अभियान सुरु गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘मालवाहक मात्र नभएर यात्रुवाहक सवारीलाई पनि ओभरलोड अवस्थामा भेटिए कारबाही गर्न मातहतका सबै जिल्लामा भनिएको छ ।’

सड्क पूर्वाधार कमजोर भएको अवस्थामा ओभरलोड सामान बोकेको सवारीसाधन ब्रेक नलाग्ने, घुम्तीमा गाडी सजिलै नमोडिने र दुर्घटनाको जोखिम अत्यधिक हुने गर्छ ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्