डिएपी मल नपाउँदा किसानलाई हिउँदे बाली लगाउन समस्या


 


नवलपरासी पश्चिम् ५ मङ्सिर । समयमा मल नपाउँदा किसानहरू चिन्तित बनेका छन् ।

हिउँदे बाली लगाउन व्यस्त रहेका किसानलाई यतिबेला डिएपी मलको अभाव हुँदा उनीहरू चिन्तित बनेका हुन । अन्य बाली लगाउने समयमा पनि प्राय मलको अभाव यथावतै रहेपनी अहिले हिउँदे खेती लगाउने समयमा नवलपरासीका किसानले डिएपी मलको अभाव झेलिरहेका छन् ।

किसानले अहिले प्रमुख रुपमा गहुँ, तोरी र मकैलगायतका हिउँदे खेती लगाउन सुरु गरेका छन् । खेती लगाउने समयमा डिएपी मल आवश्यक हुन्छ । तर, जिल्लामा डिएपी मलकै हाहाकार भएको छ । डिएपी मलको अभाव भइरहँदा जिल्लामा युरिया मल भने पर्याप्त छ ।

खेतीलाई तत्काल आवश्यक पर्ने डिएपी मल भने आउने छाट देखिएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड परासीले पालिकाहरूको सिफारिसमा सहकारीमार्फत किसानहरूलाई मल वितरण गर्दै आएको छ ।

चालु वर्षको अहिलेसम्म दुई चरणमा आएको डिएपी मल कम्पनीले वितरण गरिसकेको हो । जिल्लामा वार्षिक न्यूनतम १२ हजार १२५ मेट्रिक टन डिएपी मल आवश्यक हुँदा अहिलेसम्म जम्मा ७६४ दशमलब ४५० मेट्रिक टन ९१५ हजार २८९ बोरा० डिएपी मल आएको हो । चालु वर्षको साउन र कात्तिकमा आएको उक्त मल वितरण गरिसकिएको छ । अब मल आउने सम्भावना कम रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख नरहरि पोखरेलले बताउनुभयो ।

५० केजीका प्रति बोरा डिएपी मललाई कम्पनीले २ हजार २४४ मा सहकारीलाई बिक्री गर्दै आएको छ । उक्त मललाई ढुवानी खर्चसहित अन्य खर्च जोडेर सहकारीहरूले किसानहरूलाई बिक्री गर्दै आएका छन् ।

यता जिल्लामा डिएपी मल उपलब्ध गराउँदै आएको भैरहवास्थित कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयका प्रमुख तीर्थराज न्यौपानेले तत्कालै मल आउने सम्भावना नरहेको बताउनु भयो। ‘गहुँ लगाउने समयसम्म मल आउने सम्भावना छैन । तैपनि मङ्सिरको अन्तिम सातासम्म मल आउने जानकारी पाएका छौँ । ’, न्यौपानेले भन्नू भयो ।

किसानहरूलाई डिएपी मलको आवश्यक भइरहेका बेला जिल्लामा भने युरिया मल पर्याप्त छ । अहिले युरिया मल त्यति आवश्यक नहुने भएकाले उक्त मल कृषि सामग्री कम्पनी परासीको गोदाममा थन्किएको छ ।

चालु वर्षको अहिलेसम्म कम्पनीमा २ हजार ९६८ मेट्रिक टन युरिया मल आएको छ । जसमध्ये अहिले १ हजार १६ मेट्रिक टन युरिया कम्पनीको गोदाममै रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

युरिया मल पनि जिल्लाका लागि पर्याप्त होइन । जिल्लामा वार्षिक न्यूनतम १९ हजार ७ सय मेट्रिक टन युरिया र ५ हजार ७२० टन पोटास आवश्यक रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि अधिकृत नवराज घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्