दुर्गा प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा


 


काठमाडौं ४ मङ्सिर। साइवर मुद्धामा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानका लागि भन्दै सीआईबीले आफू मातहतको केन्द्रीय साइबर ब्यूरोको जिम्मा लगाएको थियो ।

प्रसाईंलाई अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले बताए । प्रहरी स्रोतका अनुसार प्रसाईंले भने आफू क्यान्सर सर्भाइभर रहेको र स्वास्थ्यमा समस्या रहेको भन्दै अस्पताल भर्ना हुन खोजेका थिए । तर उनको स्वास्थ्य जाँच गर्ने क्रममा वीर अस्पतालका डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको बताएपछि प्रहरीले उनलाई वृत्त सिंहदरबारको हिरासतमा राखेको हो ।

सोमबार प्रसाईंले युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए । प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्