क्यानले स्टार स्पोर्ट्ससँग गरेको सम्झौता राष्ट्रिय हित विपरित भएको भन्दै तीन संस्थाको आपत्ति
काठमाडौं ४ मङ्सिर। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौताप्रति तीन संस्थाले आपत्ति जनाएका छन् ।
सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका हुन् ।
नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् ।
एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ, तर यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।
नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानूनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार