वर्तमान सरकार आगामी चुनावसम्मै रहन्छ : काँग्रेस प्रवक्ता महत
सुर्खेत ४ मङ्सिर । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा। प्रकाशरण महतले देशको राजनीतिक स्थायित्वका लागि काँग्रेस–एमालेको गठबन्धन सरकार बनाउनुपरेको बताउनुभएको छ ।
उपनिर्वाचनको प्रचारप्रसारका लागि कर्णालीका विभिन्न जिल्लाहरूको दौडाहामा रहनुभएका काँग्रेस प्रवक्ता महतले वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा माओवादी केन्द्रको अस्थिर प्रवृत्तिका कारण दुई ठुला पार्टी मिल्ने विशिष्ट परिस्थिति बनेको बताउनुभयो ।
केही चुनौती र असहजताका बाबजुद वर्तमान सरकारले जनताको पक्षमा राम्रो काम गरिरहेको दाबी गर्दै उहाँले अहिलेको निर्वाचन प्रणालीलाई बदल्ने गरी संविधान संशोधन गर्न विभिन्न दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।
सरकार निर्माणको बेला भएका सहमतिअनुसार नै सरकार अगाडी बढिरहेको भन्दै अहिलेको उपनिर्वाचनमा अधिकांश ठाउँमा काँग्रेसले जित्ने उहाँले दाबी गर्नुभयो ।
सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै महतले प्रतिशोध साधेर पक्राउ गरिएको भन्ने प्रचार गलत रहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण बोर सोधिएको प्रश्नमा कुन देशमा पहिले भ्रमण गर्ने भन्ने कुरा त्यति ठुलो नभएको बताउँदै उहाँले यसअघि अमेरिकामा भारतका प्रधानमन्त्रीसँग महत्वपूर्ण भेट भइसकेकाले चीनबाट पहिले भ्रमणको निम्तो आएको हुँदा प्रधानमन्त्री ज्यू त्यहाँ जान लाग्नुभएको बताउनुभयो । बीआरआई ऋणमा होइन, अनुदानमा हुनुपर्छ भन्ने पनि नेपाली काँग्रेसको प्रष्ट धारणा रहेको उहाँको भनाइ थियो ।
प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार