अल्लु अर्जुनले सर्वाधिक तीन सय करोड पारिश्रमिक लिएको ‘पुष्पा २’ को टिजर सार्वजनिक
कोलकता ३ मङ्सिर । साउथ सुपरस्टार अल्लु अर्जुनले अहिलेसम्मको सर्वाधिक तीन सय करोड पारिश्रमिक लिएको फिल्म ‘पुष्पा २ःद रूल’ को ट्रेलर रिलिज भएपछि यसको चर्चा चुलिएको छ ।
डिसेम्बरको पहिलो साताबाट रिलिज हुने चलचित्रको ट्रेलरमा रश्मिका मन्दाना, अल्लु अर्जुन र फहाद फासिलको शैलीलाई दर्शकले निकै मन पराएका छन्। फिल्मले चर्चा पाइरहँदा यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने चासो जनमानसमा उत्तिकै छ।
अझ त्यसमा पनि ठूलो बजेटमा बनेको यो फिल्मका लागि कलाकारले चर्को पारिश्रमिक पनि लिएका कारण पनि ‘पुष्पा २’ चर्चामा छ।
ट्र्याक टलिउडको रिपोर्ट अनुसार अल्लु अर्जुनले धेरै फिल्मको कूल कलेक्सनलाई उछिन्दै एउटा फिल्मको लागि ३०० करोड भारू शुल्क लिएका छन्। योसँगै उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय कलाकारको सूचीमा शीर्ष स्थानमा पुगेका छन्। यो सूचीमा उनले रजनीकान्त र शाहरुख खानजस्ता सबैभन्दा धेरै कमाउने सुपरस्टारलाई पनि पछि पारेका छन्।
सूचीमा दोस्रो स्थानमा परेका अभिनेताको नाम थलापथी विजय हो । रिपोर्टहरूका अनुसार विजयले आफ्नो अन्तिम फिल्मका लागि २७५ करोड भारू लिएका थिए। तेस्रो नम्बरमा शाहरुख खानको नाम छ।
शाहरुख खानले एउटा फिल्मका लागि २५० करोड पारिश्रमिक लिने गरेका छन् । चौथो स्थानमा रजनीकान्त छन् जसको पारिश्रमिक १२५ देखि २७० करोड भारू छ।
‘पुष्पा २’मा अरूको पारिश्रमिक कति?
‘पुष्पा २’मा फहाद फासिल भीलेनको भूमिकामा देखिदैछन् । फिल्मको पहिलो भागमासमेत अभिनय गरेका उनले फिल्म ‘पुष्पा २’बाट ८ करोड पारिश्रमिक लिएका छन्।
फिल्मकी नायिका रश्मिका मन्दानाले फिल्ममा श्रीवल्लीको भूमिका निभाएकी छिन्। उनले फिल्मबाट १० करोड पारिश्रमिक लिएकी छन्।
नायिका श्रीलीलाले ‘पुष्पा २’मा आइटम नृत्य गर्नका लागि करिब २ करोड भारू लिएकी छन्। उनले ‘पुष्पा’मा आइटम नृत्य गरेकी सामन्थालाई ‘रिप्लेस’ गरेकी हुन्।
सुकुमारको निर्देशनमा बनेको फिल्म ‘पुष्पा २’ आगामी डिसेम्बर ४ बाट हलमा रिलिज हुँदैछ। एजेन्सी
प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार