जबजको सार समाजको क्रान्तिकारी रूपान्तरण : उपाध्यक्ष ज्ञवाली


 


दाङ ३ मङसिर। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनताको बहुदलीय जनवाद (जबज)को सार समाजको क्रान्तिकारी रूपान्तरण भएको बताउनुभएको छ ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपाध्यक्ष ज्ञवाली संसद् र सरकार साधन मात्र भएको साध्य नभएको बताउनुभयो ।

उहाँले पार्टी कार्यकर्ता र नेताले जबजको रूप पक्षलाई मात्र बुझ्ने तर, सार पक्षमा ध्यान नदिएको बताउनुभयो ।

उहाँले उत्पादन वृद्ध गरेर समाजवादको आधार तय गर्नुपर्ने बताउनुभयो । कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले देश र जनताको लागि आफ्नो स्वार्थ त्याग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अहिले मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउनुहुँदै उहाँले कम्युनिष्ट पार्टीको नेता र कार्यकर्ताले कुनै पनि भ्रष्टाचार गर्नै नहुने स्पष्ट पार्नुभयो ।

नेकपा एमाले दाङ क्षेत्र नं.२ का क्षेत्रीय समन्वय समितिका संयोजक सुदन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–संयोजक प्रमोद शर्माले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्