मनाङ र चर्च ब्वाइजको गोलरहित बराबरी


 


काठमाडौँ, ३ मङ्सिर । मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको पहिलो खेलमा मनाङ र चर्च ब्वाइजले गोल गर्न सकेनन् ।

बराबरीसँगै १० खेलबाट १९ अङ्क बनाएको मनाङ दोस्रो स्थानमा उक्लिएको छ । १४ अङ्क बनाएको चर्च ब्वाइज छैटौँ स्थानमा छ ।

यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी र खुमलटार एफसी १–१ गोलको बराबरीमा रोकियो ।

खुमलटारले ८७औँ मिनेटमा सागर तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि इन्जुरी समयमा आर्मीका भुवन कामीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा सञ्चालित लिगमा १२ टोलीको सहभागिता रहेको छ । लिगका खेलहरू डबल राउन्ड रोविनका आधारमा खेलाइएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्