यु–१९ कप्तान पूजाको सम्मानमा शोभायात्रा


 


बर्दिबास, ३ मङ्सिर । नेपाललाई पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिनुभएकी कप्तान पूजा महतोलाई जन्म थलोमा शोभायात्रासहित सम्मान गरिएको छ ।

स्थानीयले सोमबार पूजाको सम्मानमा शोभायात्रा निकालेका हुन् । गृहनगर गौशाल–११ डुमरवन्नास्थित जन्मथलो आइपुग्नुभएकीपूजालाई आफना गाँउ, समाज, वडा, स्थानीय सङ्घ संस्था र खेल प्रेमीबाट सम्मान, पुरस्कार र बधाई थाप्न भ्याइ नभ्याइ छ ।

पुजाले मान र सम्मानभन्दा आफ्नो अर्जुन दृष्टि डिसेम्वरमा मलेसियामा हुने एसीसी यु–१९ महिला एसिया कप र अर्को वर्ष मलेसियामा हुने विश्वकपमा रहेको प्रतिकृया दिनुभएको छ । नेपालको यु–१९ महिला टोलीले युएईलाई उसैको मैदानमा पराजित गरेर इतिहास रच्दै आगामी सन् २०२५ मा हुने विश्वकपमा स्थान बनाएपछि कप्तान पूजाले देशब्यापी चर्चा पाउनु भएको हो ।

नाम र चर्चा चुलिएपछि उहाँलाई हेर्नकै लागि पूजाको घरसम्म आउनेको भीड बढेको छ । यो भीडले हाटका दिनबाहेक प्राय सुनसान रहने पूजाको घर नजिकको इमली बजारको चहलपहल बढाएको छ ।

उहाँको सम्मानमा गौशाला–११ स्थित वडा कार्यालय तथा स्थानीय युवाहरुको संयुक्त आयोजनामा सोमबार शोभायात्रा निकालियो । शोभायात्रामा सङ्घीय सांसद लक्ष्मी महतो नगरप्रमुख दीपेन्द्र महतो, वडाध्यक्ष मुकेश महतो, खेल प्रेमी, पेसाकर्मी, बद्धिजीवि, सुरक्षाकर्मी, संचारकर्मी र स्थानीयको सर्वसाधारणको विशाल सहभागिता रहेको थियो ।

पूजाको जन्मथलो नजिकको इमली बजारबाट राष्ट्रि झण्डा र राष्ट्रिय गीतको लय साथ विहान ९ बजेदेखि सुरु भएको शोभायात्राले गौशाला नगरपालिकाका १२ वटै वडाका २८ वटा प्रमुख गाँउ, चोक तथा सार्वजनिक स्थलको परिक्रमा गरि अपरान्ह इम्ली बजार पुगेर समापन भएको थियो ।

शोभायात्राको लस्कर पुगेको गाँउका सडकमा प्रतिक्षा गरिरहेका स्थानीयबिच पूजालाई हेर्न र स्वागत गर्न तछाडमछाड चलेको थियो । महिला खेलाडीको सम्मानमा पहिलोपटक शोभयात्रासहित र्याली भएको स्थानीयको भनाई छ । पूजालाई घरमै पुगेर नगद पुरस्कारसहित सम्मान गर्ने क्रम पनि जारी रहेको छ ।

सम्मानपछि पूजाले समाजले दिएको सम्मान र कदरले आगामी खेलका लाथि थप उर्जा मिलेको बताउनुभयो । ‘‘गाउँ र समाजले गरेको सम्मानलाई म भुल्नेछैन । यसले मलाई अझै धेरै गर्ने जोस बढेको छ । अहिले मेरो लक्ष्य र योजना भनेको एसिया कप र विश्वकपमा राम्रो गर्ने हो,’’ पूजाले भन्नुभयो ।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्