शतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईको आग्रह
काठमाडौं, ३ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ ।
बैठकमा मन्त्रालय अन्तर्गत निकायको चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासिक प्रगति समिक्षामा मन्त्री विद्या भट्टराईले शतप्रतिशत नतिजा निकाल्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
छलफलमा मन्त्री भट्टराईले अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । मन्त्री भट्टराईले प्रभाबकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्नेगरी काम सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।
कमजोर कार्यान्वयन स्थितिलाई सुधार गर्न अनुगमन र पृष्ठपोषणमा जोड दिन उहाँले आग्रह गर्नुभयो । भट्टराईले नागरिकको मौलिक हक पूरा गर्नेगरी विज्ञान र समाजलाई जोडेर काम गर्न आग्रह गर्दै सामाजिक रूपान्तरका लागि आफैबाट परिवर्तन सुरु गर्नुपर्ने बताउनुभयो ।
बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजनासहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका कार्यक्रमबारे बेलैमा छलफलगरी समस्या समाधान गर्न सबैलाई सचेत गराउनुभएको छ।
विश्व वावु पुडासैनीले सचिव र सहसचिवबिच भएको सम्झौतालाई कार्यक्रम कार्यान्वयनको उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिनुभयो । प्रगति समिक्षामा समितिको कार्यक्षेत्र, अघिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्था, शिक्षामा विनियोजित उपशीर्षकको बजेट कार्यान्वयन अवस्था, निकायगत प्रगति अवस्था र माइलस्टोनको प्रगतिमाथि छलफल भएको छ ।
समीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिशत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्टाछुट्टै समिक्षा भएको मन्त्री भट्टराइको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार