मन्त्रिपरिषद बैठक बस्दै, पूर्वसभामुखको अन्त्यष्टिबारे निर्णय गरिने
काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ९ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कार लगायतका विषयमा आवश्यक निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाएइको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।
सभामुख देवराज घिमिरेले आइतबार साँझ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई टेलिफोन गरी पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढुंगानाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ ।
अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिनेछ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि उनी विद्यार्थी आन्दोलनमा लागेका थिए । ०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएपछि सभामुख भएका ढुंगाना ०५१ सालसम्म सभामुख भएका थिए ।
बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गरेका थिए । ३० वर्षको उमेरमा नेपाल बार एसोसिएसनको महासचिव भएका ढुंगाना झन्डै दुई दशक वकालत पेसामा संलग्न थिए ।
०७४ सालमा भक्तपुर जिल्ला क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएपनि पराजित भएपछि उनी त्यसयता राजनीतिमा निस्क्रिय भए ।
प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार