६५ करोडको लागतमा सुरु भयाे स्टार पोलीपाइप उद्योग
बाँके, १ मङ्सिर। उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निर्यातमुखी उद्योगलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका –१८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिलेको अवस्थामा युवाहरु मिलेर स्वदेशमै आवश्यक सामग्री उत्पादन गरी त्यसलाई बाहिरी देशमा समेत निर्यातको योजना बनाएर काम गर्नु आफैमा सकारात्मक छ ।’
उहाँले उद्योगबाट लुम्विनी प्रदेशमा मात्र नभएर नेपालभरी तथा भारतसम्म पनि उत्पादित सामग्रीको बजारीकरण गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिइ, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाइप तथा फिटिङको उत्पादन गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्कीले भन्नुभयो, ‘अहिले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोलीपाइपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामग्रीको उत्पादन गरिरहेका छौं ।’ कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाइप तथा फिटिङहरु उत्पादन गर्दै आइरहेको कम्पनीका बिक्री प्रमुख दिनेशराज विष्टले जानकारी दिनुभयो ।
यसैबीच नेपाल उद्योग बाणिजय सङ्घको ३२ औं र ३३ औं बार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न खोजेको बताउनुभयो ।
प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार