‘पूर्ण बहादुरको सारङ्गी’ आजदेखि २० हलबाट उतारियो
काठमाडौं, मंसिर १ । नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज मंसिर १ गतेदेखि काठमाडौं बाहिरका २० सिनेमा हलबाट उतारेको छ ।
फिल्मका निर्माताले ती हलका प्रदर्शकले उपलब्ध गराएको फिल्मको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने घोषणा गरेका हुन् ।
शुक्रवार साँझ फिल्मको ब्यानरमा सेभेन सिज इन्टरटेनमेन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हलमा फिल्म उतार्ने निर्णय गरेका छन् ।
त्यस्तै, बुटवलको द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशुली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुत्री हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलबाट फिल्म प्रदर्शन हुनेछैन ।
ती हलमा फिल्म हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि तथा निर्मातालाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराएपनि उक्त रिपोर्टमा असहमति जनाउँदै आजदेखि आफ्नो फिल्म उतार्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार