अछाममा राँगा काट्ने क्रममा एक युवकको हात छिनियो
अछाम, मंसिर १ । अछाममा राँगा काट्ने क्रममा एक व्यक्तिको हात छिनिएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका–२ चाफामाण्डौंस्थित पूर्णिमा मेलामा राँगा काट्ने क्रममा रामारोशन गाउँपालिका–२ का २६ वर्षीय शिव लुहारको बाँया हातमा छिनिएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबार करिब ५ बजे मंगलसेन नगरपालिका–१२ का २५ वर्षीय रमेश जनालाले राँगा काट्ने क्रममा खुडा प्रहार गर्दा लुहारको हात छिनिएको हो ।
घाइते लुहारलाई लगत्तै उपचारका लागि बयालपाटा अस्पताल पु¥याइएको थियो । अस्पतालका चिकित्सकहरूका अनुसार घाइतेको बाँया हातको नशा पूर्ण रूपमा काटिएको छ । जसका कारण हातलाई पुनः जोड्न सम्भव नभएको बताइएको छ ।
तत्काल थप उपचारको लागि अन्यत्र लैजान सक्ने अवस्था पनि नरहेको अस्पतालले जनाएको छ । हाल घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
खुडा चलाउने जनालालाई प्रहरी चौकी शान्तडाले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार