रवि लामिछानेलाई आज पोखरा फर्काइँदै
काठमाडौं, कार्तिक ३० । रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज (शुक्रबार) कास्की पोखरा फर्काइने भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धिकरणको कसुरमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज रुपन्देहीबाट पोखरा फर्काउन लागिएको हो ।
बयानका लागि लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत मंगलबार कास्कीबाट रूपन्देही पु¥याइएको थियो । उनको आज बिहान ७ः४० फ्लाइट रहे पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम सफा नभएका कारण ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डिएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा लगिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा तीन दिन गरी झण्डै साढे २३ घण्टा बयान लिइएको थियो । मंगलबार ५ घण्टा, बुधबार झण्डै ८ घण्टा र बिहीबार झण्डै १० घण्टाको बयानमा लामिछानेलाई ७४ वटा प्रश्न सोधिएको थियो ।
लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले बयान लिएका थिए ।
प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार