दार्चुलामा जिप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, सबैको सनाखत
दार्चुला, कार्तिक ३० । दार्चुलाको शैल्यशिखर–६ बगलेकमा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
दुर्घटनामा घाइते भएका दुई जनाको गोकुलेश्वर अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको हो । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसारका अनुसार दुर्घटनामा शैल्यशिखर– ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई जना भारतीय पनि रहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेशका मोहम्मद सालीर र मोहम्मद बसीम छन् ।
डीएसपी दाहालका अनुसार विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।
मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप म१ ज ३३८ नम्बरको जिप आज बिहान करिब ४ बजेतिर दुर्घटना भएको हो । घाइते चार जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
जिप सडकबाट तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार