गरिमा विकास बैंक र विद्युतीय व्यवसायी महासंघबिच सम्झौता


 


काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरुको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। कार्तिक २८ गते बुधबार विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र महासंघका तर्फबाट अध्यक्ष्न रेशमप्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात नेपाल विद्युतीय व्यवासयी महासंघले महासंघमा आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्ने बताइएको छ। महासंघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंकबाट केही समयअधि सार्वजनिक आर्कषक व्याजदर योजनाअन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा प्राप्त गर्ने छन्।

साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्डलगायतका सुविधाहरुसमेत प्राप्त गर्ने बैंकले जनाएको छ। सो प्रयोजनको लागि बैंकले छुट्टै कर्जा डेस्कसमेत स्थापना गरी कार्य गर्नेछ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्