रास्वपा नेताहरूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
अधिवक्ता अनुपम भट्टराईले अदालतलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् ।
अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।
अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ ।
यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ । उक्त निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । कात्तिक १४ गते सर्वोच्च प्रशासनले उक्त निवेदन दरपिठ गरेको थियो ।
सह रजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार