कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
काठमाडौं, कार्तिक २९ । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ ।
३८ वर्षीय बायाँ हाते ओपनर विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् ।
धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनकले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए ।
कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार ३१३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७५९ रन बनाएका छन् ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार