पश्चिम सेती बन्ने भइसक्यो, हामीलाई सजिलो हुन्छ : देउवा
डडेलधुरा, कात्तिक २९ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने निश्चित भइसकेको बताएका छन् ।
गृह जिल्ला डडेलधुरामा रहेका देउवाले पश्चित सेती आयोजना भारतले बनाउन लागेको बताएका हुन् । ‘पश्चिम सेती करिब करिब बन्ने भइसकेको छ । पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ ।’
भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।
लगानी बोर्डका तत्कालीन निर्देशक सुशील भट्टका अनुसार एनएचपिसीले गत असार ५ गते डिपिआरको मस्यौदा बुझाएको थियो । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुने छ । अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अगाडि बढ्ने छ ।
यसअघिको अध्ययन अनुसार ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार