नेपाली चलचित्रको इतिहासमै धेरै कमाउने फिल्म बन्याे ‘पूर्णबहादुरको सारङ्गी’
काठमाडौँ २८ कात्तिक। नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने फिल्म बनेको छ ‘पूर्णबहादुरको सारङ्गी’ ।
फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी ४’को रेकड समेत तोडेको हो ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र २ करोड ५ लाख रुपैयाँ कमाएको बताएको छ ।
मौलिक कथा बोकेको फिल्मले धेरै कमाउने घरेलु फिल्मको रूपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।
फिल्मले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने, छोटो समयमा धेरै कमाउने लगायत विभिन्न रेकड समेत कायम गरेको छ । बुधबार पनि देशभर ४५० भन्दा बढी शो पाएको छ । वितरकका अनुसार टिकट बिक्रिको रेसियो घटेको छैन । २४ गतेमात्र फिल्मले दिनमा सबैभन्दा धेरै कमाउने रेकर्ड रखेको थियो । ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । यस अघि ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई यसले उछिनेको हो ।
हलमा दर्शक तान्न सफल चलचित्रमा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, स्वयम् केसीलगायतको अभिनय रहेको छ । त्यसमा विजय बरालको अभिनयलाई दर्शकले रुचाएका छन् ।
प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार