‘स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सक्रियताका साथ काम गर्न निर्देशन’
काठमाडौँ २८ कात्तिक। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सक्रियताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला निर्वाचन अधिकारीहरूसँग आयोगमा आज भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आ–आफ्नो काम, कर्तव्य र अधिकार प्रति सबै सचेत र प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।
निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपनिर्वाचन सम्बन्धी कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक, सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा सहजीकरण गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार