प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीले बुझाए ज्ञापनपत्र


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

राप्रपाका प्रमुख सचेतक शाहीले ज्ञापनपत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

सचेतक शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै राज्यको ध्यानाकर्षण गराए ।

उनले कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकता अनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा जुम्ला लगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिन व्यवस्था गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा आत्मनिर्भर कृषि उत्पादन, स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकिकरण गर्दै साना तथा ठूला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्