हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु, ५ घाइते


 


मकवानपुर, कार्तिक २७ । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मतका क्रममा पड्किएर हेटौंडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्यु भएको हो । उनी हेटौंडा–११ थानाभ¥याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका थिए ।

मर्मतको क्रममा एक्कासि टायर विस्फोटपछि गम्भीर घाइते भएका उनको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायरबाट हावा गएको थियो । टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको हो ।

घटनामा पर्साको धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्यांकर चालक हेटौंडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिकको धुनिबेशी नगरपालिका–२, भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौंडा–११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये मधेश प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ यस्तै अन्य चार जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्