भैरहवामा प्रदर्शन गर्ने रास्वपाको तयारी, सुरक्षा व्यवस्था कडा


 


बुटवल, कार्तिक २७ । कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई आज (मंगलबार) भैरहवा ल्याइने तयारी गरेपछि रास्वपाले प्रदर्शन गर्ने तयारी गरको छ । रास्वपाले प्रदर्शन शान्तिपूर्ण र मर्यादित बनाउन आचार संहिता लागू गरेको जनाएको छ ।

सहकारी ठगी आरोप लागेका पार्टी सभापति समेत रहेका लामिछानेलाई पोखराबाट भैरहवा लैजाने भनिए पनि मौसम प्रतिकूलताका कारण रविको उडान भने हुन सकेको छैन ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको अनुसन्धानका क्रममा लामिछानेसँग आजबाट सरकारी वकिलको कार्यालय भैरहवामा बयान हुँदैछ । बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुंदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको रास्वपा रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माले बताए ।

प्रदर्शन अघि २०–२५ जनाको संख्यामा नेताहरु विमानस्थलमा पनि जाने शर्माले बताए । लामिछानेलाई भैरहवा ल्याइने भएपछि रास्वपाले पनि प्रदर्शनको कार्यक्रम बनाएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्