भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै


 


काठमाडौं, कार्तिक २७ । भारतीय सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आगामी मंसिर ५ गतेदेखि नेपाल भ्रमणमा आउँछन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउन लागेका हुन् ।

चारदिने नेपाल भ्रमणमा आउन लागेका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्नसमेत प्रदान गरिनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मानार्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

नेपाली तथा भारतीय सेनाको सेनापतिमा नियुक्त हुने दुवै देशका प्रधानसेनापतिले एकअर्का देशको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न लिने परम्परा रहेको छ ।

नेपाल भ्रमणका क्रममा द्विवेदीले रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रधानसेनापति सिग्देलसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । उनको सम्मानमा प्रधानसेनापति सिग्देलले रात्रिभोजको समेत आयोजना गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा उनलाई राजधानीबाहिर पोखरा, जोमसोम वा सगरमाथाको आधार शिविरसमेत भ्रमण गराउने योजना बनाइएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्