राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबिच भेट


 


बाकु (अजरबैजान), २६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेट भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उहाँहरूबिच भेट भएको हो ।

भेटमा उहाँहरूबिच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको हो । “जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ”, कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेट्नुभएको थियो । सोमबारबाट सुरु भएको कोप–२९ सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुग्नुभएको हो ।

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्