फरार इन्सपेक्टरले डिएसपीमाथि लगाइन् गाला चिमटेको आरोप


 


काठमाडौं । हनी ट्रयापिङ गिरोहमा मिलेमतो देखिएपछि फरार रहेकी नेपाल प्रहरीकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीले अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरिरहेकी छिन् ।

आफुमाथि छानविन गर्ने डिएसपीमाथि उनले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । फरारै अवस्थामा उनले जिल्ला प्रहरी परिसर,ललितपुरका डिएसपी नरहरी अधिकारीमाथि त्यस्तो आरोप लगाउँदै उजुरी गरेकी हुन् ।

डिएसपी अधिकारीकै नेतृत्वमा भएको छानविन समितिले उनलाई समेत फौजदारी अभियोग लगाउनुपर्ने प्रतिवेदन दिएको थियो । डिएसपी अधिकारी लगायतलाई उनले आफुलाई जोगाइदिन त्यतिबेला आग्रह गरेको र नमानेपछि उल्टो उजुरी दिएको स्रोत बताउँछ ।

एक पार्टीमा कति राम्री भन्दै आफ्नो गाला चिमटेको भनेर उनले उजुरी गरेकी छिन् । साथै, आफ्नो निवासमा खानतालासी गर्ने क्रममा पनि महिला प्रहरीलाई नराखिएको भनेर उनले उजुरी दिएकी छिन् ।

उजुरी गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएको छ । तर, प्रारम्भिक छानविनमा ती उजुरी प्रतिशोधस्वरुप दिएको प्रष्ट भइसकेको छ ।

इन्सपेक्टर शाहीले यसरी आफ्नै हाकिममाथि उजुरी गरेर अनुसन्धानलाई विवादमा पार्ने प्रयास गरेपछि ललितपुर परिसरले अनुसन्धानको जिम्मा सिआइबीलाई लगाएको छ ।

भैंसेपाटी प्रभागको प्रमुख हुँदा इन्सपेक्टर शाहीले मोरङका एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने भनेर ३० लाख लेनदेन गराएकी थिइन् ।

त्यसवापत पीडितसँग थप डेढ लाख रुपैयाँ समेत लिएको पुष्टि भइसकेको छ । उनका चालक रहेका हवल्दार महेन्द्र नेपालसहितलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

डेढ महिना हुँदा पनि इन्सपेक्टरलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

यो घटनामा एसपी कमल थापा समेत मुछिएकाले उनीमाथि समेत सिआइबीले अनुसन्धान गरिरहेको छ । सिआइबीलाई समेत अनुसन्धानमा विभिन्न निकायबाट दबाब दिने काम भइरहेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्