रवि लामिछानेलाई आजै रूपन्देही ल्याइने
काठमाडौं, कात्तिक २६ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ ।
आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथी बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।
रुपन्देही प्रहरी स्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ ।
प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार