राष्ट्रपति पौडेलको कार्यभार उपराष्ट्रपति यादवलाई
काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार साँझ राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्नेगरी तोक्नुभएको हो ।
राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु जानुभएको हो।
राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फिर्ता हुनुहुनेछ ।
प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार