अछाममा स्थानीयबाट कुटिए प्रहरी चौकीका इञ्चार्ज, असईलाई जिल्ला झिकाइयो


 


अछाम । अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) माथि कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीमाथि कुटपिट भएको हो ।

उनीमाथि यही कार्तिक १४ गते राति कुटपिट भएको भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी गाउँमा एक्लै पुगेका थिए ।

सोही बेला मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको बताइएको छ । कुटपिटबाट असई धामी घाइते भए पनि आजसम्म घटना भने बाहिरिएको थिएन ।

सार्वजनिक तस्विरमा उनको अनुहार रक्ताम्मे रहेको देख्न सकिन्छ । यता जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले पनि सामाजिक सञ्जालबाटै घटनाबारे थाहा पाएको जानकारी दिए । घटनाबारे थाहा पाएपछि असर्य धामीलाई जिल्ला झिकाइएको उनले बताए ।

उनीसँग सोधपुछपछि घटनाबारे थप जानकारी प्राप्त हुने उनले बताए । घटनामा संलग्नको खोजीकार्य र दोषीमाथि कारबाही हुने डीएसपी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्