रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई आइतबार चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो। यसअघि कात्तिक २० गते लामिछानेमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप भएको थियो।
गत कात्तिक २ गते केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरी पोखरा लगेपछि लामिछानेलाई चौथो पटक आइतबार अदालतमा उपस्थित गराइएको हो।
यस्तै, कसुरमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईं र गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार रामबहादुर खनालमाथि पनि अनुसन्धान गर्न प्रहरीले त्यति नै म्याद पाएको छ। यसअघि प्रहरीले १० दिन म्याद पाएको थियो ।
प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार