पूर्वगृहमन्त्री रविलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै
काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज फेरि म्याद थपका लागि अदालत लगिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिने भएको हो ।
उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको कास्की प्रहरीले जनाएको छ ।
उनको हिरासतमा बस्ने म्याद २४ गते शनिबार नै सकिएको छ । छठ पर्वको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ । आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार