कक्षा ११ र १२ मा २१ वर्षदेखि उत्तीर्ण नभएका विद्यार्थीलाई मौका परीक्षा


 


काठमाडौं, कार्तिक २५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

२०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको हो । बोर्डका अनुसार विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका सबैखाले विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्नेछन् ।

बोर्डको यो व्यवस्था अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएकासम्म मौका परीक्षामा सहभागी हुन पाउने छन् । विगत २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको संख्या झन्डै १४ लाख रहेको हुनसक्ने बोर्डको अनुमान छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । बोर्डले यस्ता विद्यार्थीलाई आउँदो मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्