यू–१९ महिला विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग दोस्रो पटक भिड्दै
काठमाडौँ, कार्तिक २५ । आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटअन्तर्गत आज (आइतबार) नेपाल थाइल्यान्डसँग भिड्दैछ ।
यूएईको अजमानमा हुने खेल स्थानीय समयअनुसार दिउँसो साढे १ बजे सुरु हुनेछ ।
छनोटको पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाली टोली सोही नतिजा दोहो¥याउने योजनामा छ । थाइल्यान्ड पनि नेपाललाई हराउँदै छनोटमा दोस्रो जित हासिल गर्ने दाउमा छ ।
छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको फराकिलो विजय प्राप्त गरेको थियो । तर तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले हा¥यो ।
चार टोली सहभागी छनोट प्रतियोगितामा हरेक टोलीले ६ खेल खेल्नेछन् । डबल लिग फर्म्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने आईसीसी यू–१९ विश्वकप खेल्न पाउनेछन् ।
एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ ।
प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार