पाथीभरा केबुलकार खारेज गर्न माग
ताप्लेजुङ, २४ कात्तिक। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ।
शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो।
परियोजनाको विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमले कोणसभालाई सम्बोधन गर्नुहुँदै केबुलकार तत्काल खारेज गर्नुपर्ने बताउनुभयो।
लिङ्खिमले शुक्रबार काफ्लेपाटी क्षेत्रमा भएको झडपका क्रममा धारिलो हतियार खुकुरी र ढुङ्गा प्रहार गरी मजदुरसहित आन्दोलनकर्मीलाई घाइते बनाउनेमाथि कानुनी कारबाहीको माग गर्नुभयो।
सम्बोधनका क्रममा वक्ताहरुले केबुलकार खारेजसँगै निर्माणको कामका लागि पाथीभरा क्षेत्र पुर्याइएको एक्साभेटरसहितका निर्माण सामग्री तत्काल हटाउन पनि निर्माण कम्पनी र परियोजना पक्षलाई आग्रह गरेका छन्।
शुक्रबार केबुलकार परियोजनाको शिलान्यास गर्ने क्रममा परियोजनाको पक्ष र विपक्षबिच ढुङ्गा हानाहान अर्थात झडप भएको थियो। झडपका क्रममा दुवै पक्षका र प्रहरीसमेत गरी छ जना घाइते भएका थिए।
यता केबुलकार परियोजनाको निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रकसन प्रालिका सञ्चालक इन्द्र केदेमले शुक्रबार परियोजनाको शिलान्यास भएको र अब कामलाई निरन्तर अघि बढाउने बताउनुभयो।
पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार