उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका सबै निकायलाई एमालेको निर्देशन
काठमाडौँ २४ कात्तिक । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका सबै निकायहरूलाई निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको प्रदेश कमिटीहरूबाट सिफारिस भई आएका उमेद्वारहरुको नाम अनुमोदन गरी सम्पूर्ण सामर्थ्यका साथ निर्वाचनमा परिचालित हुन पार्टी पङ्क्तिलाई निर्देशन दिएको एमालेले जनाएको छ ।
स्थानीय तहका विभिन्न ४४ स्थानमा आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सम्बन्धमा समेत छलफल भएको र राष्ट्रिय हितमा आधारित भएर परराष्ट्र नीति सञ्चालन गर्न सरकारलाई सुझाव दिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
यस्तै बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गर्नुका साथै कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लव अधिकारीमाथि पार्टीको प्रदेश कमिटीले पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने गरी गरेको निर्णय अनुमोदन गर्दै उहाँमाथि लागेका सबै आरोपहरूको वस्तुनिष्ठ छानविन गर्न राज्यका सबै निकायहरूलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार