विवाह पञ्चमी महामहोत्सवमा पाँच सय जन्ती आउने
जनकपुरधाम २४ कात्तिक । प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमीका दिन जनकपुरधाममा मनाइने विवाह पञ्चमी महामहोत्सवलाई यस वर्ष प्रदेश सरकारले भव्य रुपमा मनाउने भएको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा आज जानकी मन्दिरमा सम्पन्न भएको सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य बनाउनका लागि १४ वटा विभिन्न उपसमितिहरू निर्माण गरेको छ ।
त्यस्तै, आज बसेको सर्वपक्षीय बैठकले मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य रुपमा स्वागत गर्ने निर्णय गरेको छ । अयोध्याबाट आउने जन्तीलाई महोत्तरीको मटिहानीमा आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्नेछ । स्वागत तथा रात्रीको भोजन र आवासको व्यवस्थापन पनि मटिहानी नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी, १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्ने छ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिने निर्णय भएको छ ।
मङ्सिर १८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्र विघा रंगभूमि मैदानमा आयोजना गरिने धनुष यज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।
त्यसैगरी, मङ्सिर २१ गते जानकी मन्दिरको प्राङ्गणमा रात्रि मैथिली परम्परानुसार भगवान् राम र माता सीताको प्रतिकात्मक विवाह उत्सवको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विवाह महामहोत्सवका लागि जनकपुरधाममा आउने जन्तीको स्वगत तथा सम्मानको कार्यक्रम मधेश प्रदेश सरकारको अगुवाइमा गरिने निर्णय प्रदेश सरकारको मन्त्रिपरिषद्ले यसअघि नै गरेकोले त्यसलाई आजको सर्वपक्षीय बैठकले अनुमोदन गरेको हो ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी रुपमा मनाइँदै आएको विवाह पञ्चमी महामहोत्सवमा यस बर्ष भारतको अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधु सन्त महन्थ, योगी, सन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्तिहरू, राम मन्दिर निर्माण समिति अयोध्याका पदाधिकारीहरू तथा विश्व हिन्दू परिषद् भारतका पदाधिकारीहरू सहभागी हुने भएका छन् ।
मङ्सिर १६ गते नगर दर्शनबाट शुरु हुने विवाह पञ्चमी महामहोत्सव अन्तर्गत १७ गते फूलबारी लिला, १८ गते धनुष यज्ञ, १९ गते तीलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार