सबै आमाले बच्चासँग मातृभाषा बोल्नुपर्छः सञ्चारमन्त्री गुरुङ


 


तनहुँ, २४ कात्तिक। सञ्चार प्रविधि तथा सूचनामन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, संस्कृति, सभ्यता लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।

तनहुँको दमौलीमा शनिबारदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले आफ्नो पहिचान प्रति गर्व गर्न नसक्दा भाषा, संस्कृति, सभ्यता हराउँदै गएको बताउनुभयो।

नेपाली धेरै जातजात, भाषाभाषी रहेको उल्लेख गर्दै मन्त्री गुरुङले सबै जातिका आमाले मातृभाषा बोल्नुपर्ने बताउनुभयो।

आमाले बच्चासँग मातृभाषा बोलेनन् भने बच्चाले भाषा नजान्ने र भाषा नजान्नेले सभ्यता, भोषभुषा र संस्कृतिप्रति पनि रुचि नराख्ने उहाँको भनाइ छ ।

मन्त्री गुरुङले भन्नुभयो, ूहरेक आमाले आफ्नो मातृभाषामा कुरा बच्चालाई सिकाउनुहोस् आमाले नबोले बच्चाले सिक्न खोज्दैनन्। मातृभाषाको साथसाथै अङ्ग्रेजी भाषामा पनि दख्खलता राख्नुपर्छ ।ू अन्तर्राष्ट्रिय व्यापार, ज्ञान र खोजको लागि अंग्रेजी सिक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

देशमा शिक्षा नीति परिवर्तन गरेर रोजगारी दिने शिक्षा प्रदान गर्न जरुरी रहेको मन्त्री गुरुङको भनाइ थियो। धेरै युवा रोजगारीको खोजीमा विदेशीनु परेको प्रशङ्ग ल्याउँदै गुरुङ युवालाई स्वदेशमै रोजगारी र स्वरोजगार हुने शिक्षा दिनुपर्ने बताउनुभयो।

प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्