पोर्चुगलमा एक नेपाली युवक चार महिनादेखि बेपत्ता
लिस्बन, (पोर्चुगल)– वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवक चार महिनादेखि बेपत्ता भएका छन् ।
पोल्यान्ड हुँदै दुई वर्षअघि पोर्चुगल आएका कैलालीको धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा बेपत्ता भएका हुन् ।
ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए । उनका अनुसार राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए ।
हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए ।
बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको छ । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी छन् ।
यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार