बाघको आक्रमणबाट इन्सपेक्टरसहित चार घाइते


 


पर्सा, माघ २५

जिल्लाको महुवन गाविसमा आज जङ्गलबाट आएको बाघले आक्रमण गर्दा एक प्रहरी निरीक्षकसहित चारजना सख्त घाइते भएका छन् ।पर्साको महुवन गाविसको खेतमा काम गरिरहेका बेला अचानक जङ्गलबाट आएको बाघले आक्रमण गर्दा पर्सा लखनपृर गाविस–९ का मोतीलाल यादव, आसमान राउत कुर्मी तथा रामनगरी–७ का महिन्दर सहनीलाई आक्रमण गरेको हो ।

बाघले आक्रमण गरेको स्थानीय बासिन्दाले पर्सा प्रहरीलाई जानकारी दिएपछि अस्थाई प्रहरी चौकी महुवनका इन्चार्ज अरुण झा र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बाघलाई धपाउन खोज्दा बाघले प्रहरी निरीक्षक शाह र अरुण झालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।

यसैबीच, मानव वस्तीमा प्रवेश गरी सर्वसाधारणमाथि आक्रमण गर्ने बाघलाई आज अपरान्ह प्रहरीले गोली हानेर मारेको छ । प्रहरीले चलाएको गोली लागी घाइते भएको बाघ पर्साको लखनपुर–७ एकडढवा टोलमा रहेको बाँसको झ्याङबाट मृत अवस्थामा फेला परेको हो ।

बाघको आक्रमणमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक चक्रबहादुर शाह, लखनुपर–९ का मोतीलाल यादव, आसमन पटेल (राउत कुर्मी) र रामनगरी–७ का महिन्दर सहनीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडाँै पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्