यू–१९ एसिया कपमा नेपालको भिडन्त श्रीलंका र बंगलादेशसँग
काठमाडौँ, कार्तिक २४ । एसीसी यू–१९ एसिया कपमा नेपाल भारत र पाकिस्तानबाहेकको समूहमा परेको छ । भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।
नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने छ । एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर १४ गते श्रीलंकाविरुद्व खेन्नेछ ।
नेपालले समूह चरणको दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश तथा अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ । प्रतियोगिता ५० ओभरको हुनेछ ।
प्रतियोगितामा सहभागी एसियाका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल मंसिर २३ गते हुनेछ ।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार