हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल
काठमाडौँ २३ कात्तिक। अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडा वृद्धि भएको विषयमा अन्तर मन्त्रालय छलफल भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीसँग छलफल गर्नुभएको हो ।
हवाई भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परकोलगायतका विषयमा पर्यटनमन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगार मन्त्रीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडा वृद्धिबारे छलफल गर्नुभएको हो ।
त्यसअवसरमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई भाडा वृद्धि नियन्त्रणका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले अन्तर मन्त्रालय बैठक बसेर समस्या समाधान गर्ने उल्लेख गर्दै तत्काललाई यात्रुहरूलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहलका लागि अनुरोध गरिने जानकारी गराउनुभएको थियो ।
श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यस अघि भारतको नयाँ दिल्लीबाट नेपालीहरू श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताउनुभयो ।
मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गर्नुभयो । हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटक समेत मर्कामा परेको भन्दै मन्त्री भण्डारीले सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन मन्त्री पाण्डेले हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारका लागि विमानस्थलमा रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकटमा वृद्धि भएको हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “धावनमार्गको विस्तारको सूचना बाहिरिएसँगै विमान कम्पनीहरूले उडान कटौती गर्ने योजना बनाइसक्नुभएको थियो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘फ्लाइट डाइभर्ट’ गर्न थालिएको छ ।”
छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीले कार्टेलिङ गरेको हुनसक्ने उल्लेख गर्दै वैदेशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले यस विषयमा सरकारले आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिएका थिए ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वभाविक रुपमा वृद्धि भइरहेको र यसमा विमान कम्पनी र केही ट्राभल एजेन्सीहरूको हात रहेको दाबी गर्नुभयो ।
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गर्नुभएको छ ।
विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौँ उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो ।
आज परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा राणाले उहाँहरूलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गर्नुभएको हो ।
सो बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिले उक्त समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा राणालाई ज्ञापनपत्र दिनुभएको थियो ।
उहाँहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका जानकारी गराउनुभएको थियो ।
सो बैठकमा मन्त्री डा राणाले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने नेपालीलाई महँगो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरू पनि परेकाले धेरै गुनासो आएको छ । हवाई कम्पनीले यदि एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ ।”
नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्व अध्यक्ष विमल गौतम एवं प्रतिनिधि प्रज्ञान न्यौपाने लगायतले मन्त्री डा राणासँग आग्रह गर्नुभएको थियो ।
मन्त्री डा. राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिनुभएको थियो । उहाँले विमानस्थल मर्मत गरिने सूचना नेपालले छ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीले अस्वाभाविक रूपमा भाडा वृद्धि गर्न नहुने बताउनुभयो ।
मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का पर्नु त छँदैछ, यो समस्या राष्ट्रिय समस्या पनि भएकाले समाधानका उपायहरूको खोजी गरिने जानकारी दिनुभयो ।
अर्का मन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाई कम्पनीहरूले आफूखुसी मूल्यवृद्धि गर्न नपाउने जिकिर गर्दै समस्याको समाधानका विकल्पका बारेमा छलफल गरिरहेको बताउनुभयो ।
उहाँले विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परिस्थितिको समाधानका लागि विकल्प खोजिने बताउनुभयो ।
प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार