उर्जा राज्यमन्त्री तामाङको ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौँ, कार्तिक २३ । उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा राखेको हो ।
उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा कालोसूचीमा राखिएको छ ।
कोशी राजमार्ग विस्तार तथा मर्मतको ठेक्का लिएका तामाङले बारम्बार म्याद थप र तोकता गर्दा पनि वास्ता नगरेपछि सडक डिभिजनले ठेक्का तोडेको छ ।
अब उनको कम्पनीले दुई वर्ष ६ महिनासम्म सरकारका कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यमा सहभागी हुन पाउने छैन । नेपाली काँग्रेसका नेता तामाङ रामेछापबाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार