बर्दियामा धमाधम पाकेको धान कटाइ हुँदै
सन्दिप कुमार बैश्य
बर्दिया । बर्दियामा किसानलाई धान बाली भित्र्याउने चटारो छ। यहाँका किसानहरुले पाकेको धान धमाधम काटिरहेका छन् ।
गुलरिया नगरपालिका–७ का कृषक राम कुमार यादवले सधैँझै यो वर्ष पनि आफू धान काट्नमा व्यस्त रहेको बताउनु भयो। कृषक यादवले यस वर्ष पर्याप्त वर्षा भएकोले धान उत्पादन बढ्ने बताउनु भयो ।
बबई र कर्णाली नदीमा आएको बाढीले विगतमा जिल्लामा धान उत्पादन घटेको थियो । यस वर्ष मौसम अनुकूल हुँदा उत्पादन ७ प्रतिशतसम्म बढ्ने आकलन किसानहरूको छ।
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका वरिष्ठ वागवानी विकास अधिकृत तथा सूचना अधिकारी राम प्रकाश यादवले यस वर्ष मौसम अनुकूल हुँदा धान उत्पादन ५ देखि ७ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा अहिलेसम्म करिब ९० प्रतिशत धान कटाइ भइसकेको बताउनु भयो । बाँकी १० प्रतिशत धान पनि कृषकहरुले धमाधम काटिरहेका छन् । उहाँका अनुसार यस वर्ष ५० हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा वर्खे धान खेती गरिएको हो ।
जिल्लामा नयाँ जातका हर्दीनाथ ५, हर्दीनाथ ६, बहुगुणी २, राधाचार, सावित्री, समामन्सुली, चैते ५, गोरखनाथ, लोकतन्त्र, सर्जु ५२, मकवानपुर लगायतका धान लगाउने गरिएको छ ।
त्यस्तै हाइब्रेड जातका भारतीय धान ६४४४ गोल्ड, यूएस ३१२, महेन्द्रा ३० ३० धान लगाउने गरिएको सूचना अधिकारी यादवले जानकारी दिनुभयो । धान काटेपछि गहुँ र तोरी छर्ने कृषकहरुको तयारी छ ।
प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार