उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ समापन


 


काठमाडौं, कार्तिक २३ । छठ पर्वको अन्तिम दिन आज (शुक्रबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ व्रत समापन हुँदैछ ।

भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, ठकुवा, भुसुवालगायत परिकारले अर्घ्य दिएका हुन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको हो ।

छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाउनुका साथै सन्तानसमेत प्राप्ति हुने जनविश्वास छ । यसमा सिङ्गै फलफूल चढाउँदा सूर्य देवता प्रशन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्