साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने


 


काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् ।

निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको छ ।

साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति बनाइरहेको छ ।

त्यहाँको मानव संशाधन मन्त्रालयले घरेलु श्रमिक आएको पहिलो २ वर्षभित्र सम्झौता भंग गरेमा त्यसको ६० दिन अर्थात दुई महिनाभित्र देश छाड्नुपर्ने व्यवस्था गरेको छ । यस्तै कुनै रोजगारदाताकोमा काम गर्ने श्रमिकले २ वर्षपछि आफैं काम गर्न छाडेमा ६० दिनभित्र नयाँ रोजगरदाता खोज्न र परिवर्तन गर्न पाउनेछन् ।

नेपाल लगायतका श्रमिक पठाउने मुलुकले साउदी अरेबियाको श्रम कानुन र त्यहाँ घरेलु श्रमिकमाथि हुने गरेको शोषणलाई देखाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्था गरेका छन् । यसका कारण घरेलु श्रमिकको माग उच्च हुँदा पनि आपूर्ति प्रभावित भएसँगै साउदी अरेबियाले श्रम कानुनमा सुधार गरिरहेको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको निर्देशनका आधारमा नेपाल सरकारले ९ वर्षदेखि घरेलु श्रमिकका रुपमा विदेश जान श्रम स्वीकृति बन्द गरेको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्