क्याम्पसका लागि देउसीभैलोबाट ४० लाख संकलन
म्याग्दी, कार्तिक २२ । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहारमा देउसीभैलोबाट रु ४० लाख सहयोग संकलन भएको छ ।
मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको जानकारी दिए ।
देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा रेखा रोका, डा रञ्जना रोका र डा स्वस्ती रोकाले रु एक लाख ९२ हजारका दरले रु पाँच लाख ७६ हजार सहयोग गरेका छन् ।
मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ ।
अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार